चतुर विद्या के हो?


विष्णु शर्मा ब्राम्हणका चलाक कान्छा छोरा यज्ञ शर्माले बनारसबाट व्याकरण, साहित्य आदि ग्रन्थ पढेर घर फर्केछन्। विष्णु शर्माले छोरालाई सोधेछन्- “के के पढेर आइस्?” यज्ञ शर्माले आफूले पढेजति सबै बयान गरे। विष्णु शर्माले छोरालाई फेरि सोधेछन्- “चतुर विद्या पढिस् त?” विचरा छोराले अक्क न बक्क” परेर जवाफ दिएछन्- “त्यो त छैन।” विष्णु शर्माले- “उसो भए पढेर आइज।” भनेछन्।
त्यसपछि यज्ञ शर्माले चतुर विद्या पढ्न हिंडे। जाँदा जाँदा बेलुका भएपछि उनी एउटा पाटीमा बास बसे। त्यहाँ दुई जना डाँकूहरू पनि बास बसेका रहेछन् र उनीहरूले यज्ञ शर्मालाई को हौ भनी सोधेछन। उनले तिनीहरू डाँकूहरू हुन् भन्ने चिनिहाले र आफू पनि डाँकू हुँ भनेछन्। तीनैजना त्यहीं बास बसे।
दुई डाँकूमध्ये एउटाले भन्यो- “भाइ हो, अब गफ गरेर रात बिताऔं।” त्यसपछि अर्को डाँकूले भन्यो- “लौ, यसो गरौं। तीनै जनाले पालैसंग कुरा गरौं। कसैको कुरा जसले होइन भन्यो उ कमारो बन्नु पर्छ।”
त्यसपछि पहिलो डाँकुले भन्यो- “हाम्रा बाबुको पालामा 12 वर्षसम्म पानी नपरेपछि बाबुले भैंसीको दुधले खेत भिजाई रोपाईं गरेका थिए रे। यो कुरा साँचो हो कि होइन?”
यज्ञ शर्माले ती डाँकूहरूले आफूलाई कमारो बनाउने दाउ गरेको बुझिसकेका थिए। त्यसैले “यो कुरो होला।” भनिदिए। त्यसपछि दोस्रो डाँकूले सुनायो- “हाम्रा बाजेले एउटा पिंडालु रोपेका थिए रे। पछि त्यो बढेर धेरै ठूलो भयो र 4 जना मान्छेले बन्चरोले दिनभर लगाएर काटेर ढाले रे। अनि त्यसको डाँठलाई ताछेर समुद्रमा पुल हालेका थिए रे। यो कुरा होला कि नहोला?” यज्ञ शर्माले फेरि “यो कुरो होला।” भनिदिए।
अब यज्ञ शर्माको पालो आयो। यी बदमास डाँकूहरूलाई कमारो बनाउनु पर्छ भन्ने् सोचेर उनले भन्नो थाले- “हाम्रा बाबुले नयाँ घर बनाएछन्। छाना छाउने दिनमा 10 जनाले छाउँदा पनि धुरी मार्न (छाना छाउन) बाँकी रहन गएछ। त्यसपछि अर्को दिन बाबुले दुई जना आफ्नै कमारा लगेछन्। उनीहरूले दिनभर छाना छाएर बेलुका सिद्धिनै लाग्दा अकस्मात आँधी आएर ती दुबैलाई उडाएर कता लगेछ कता। तिनीहरूलाई म खोज्दै आएको हुँ, ती दुबै तिमीहरू नै त होइनौ?”
दुबै डाँकूहरू फन्दामा परे। हो भने पनि होइन भने पनि उनीहरू कमारो हुने भए। आखिर आफूले गराएको वाचामा आफै परी उनीहरूले यज्ञ शर्माको कुरा हो भन्नै पर्‍यो र यज्ञ शर्माले उनीहरूलाई कमारा बनाई घर लगे।
घरमा पुगेर यज्ञ शर्माले आफ्ना बाबुलाई शुरूदेखिका सबै कुरा बताए। आफ्नो छोराको यस्तो चलाकी र बुद्धि देखेपछि विष्णु शर्माले छोरालाई भने- ‌”बाबु, जहाँ जस्तो पर्छ, त्यहाँ त्यस्तै भएर लाभ लिन सक्नु र आफूलाई अर्काको मुठीमा पर्न नदिने चलाकीलाई नै ‘चलाक विद्या’ भनिन्छ। अब तिमी पूरा पण्डित भयौ। घर गृहस्थी गरेर बस। म अब वानप्रस्थ लिन्छु।”
यति भनेर विष्णु शर्मा वनवास गए। यज्ञ शर्मा ती दुई डाँकूहरूलाई कमारा बनाई आनन्दसँग बस्‍न थाले

Comments

Popular posts from this blog

Famous Historical Places of India

A country from its movies

Jayasthiti Malla